‘मेस्सीलाई ३ गुणा बढी तलब दिँदा पनि प्रस्ताव स्वीकारेनन्’

म्यानचेष्टर सिटीका अध्यक्ष खाल्डून अल मुबारकले अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीलाई क्लबमा ल्याउन प्रस्ताव गरेको खुलासा गरेका छन् ।

मुबारकले एक अन्तर्वार्ताको क्रममा आफ्नो टोलीले मेस्सीलाई क्लबमा ल्याउनका लागि भारी रकमको प्रस्ताव गरेको बताएका हुन् ।

हालै मिडियालाई दिएको एक अन्तर्वार्ताको क्रममा मेस्सीका लागि ठूलो रकमको प्रस्ताव गर्दा पनि मेस्सीले नस्वीकारेको बताएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

चर्चित खेल साइट गोल डटकमको एक रिपोर्टका अनुसार सिटीका अध्यक्ष मुबाकरले प्रशिक्षक पेप ग्वार्डीवालामार्फत् मेस्सीलाई तीन गुणा तलब दिनेगरी अफर गरेका थिए । तर, बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सो अफर स्वीकारेनन् ।

सिटीले एक समय मेस्सीलाई भित्र्याउन चाहेको बताइएको छ । सिटीले बार्सिलोनाकोभन्दा तीन गुणा बढी तलब दिनेगरी मेस्सीलाई अफर गरेको थियो । अल मुबारकले अन्तर्वार्ताका क्रममा भने, ‘हामीले पेप ग्वार्डीवालालाई मेस्सीसँग कुरा गर्न भनेका थियौं । हामीले बार्सिलोनामा मेस्सीले पाइरहेको तलबभन्दा तीन गुणा दिने अफर गरेका थियौं । तर, मेस्सीले हाम्रो अफर स्वीकारेनन् ।’