मेस्सीलाई उछिने भारतका सुनिल क्षेत्रीले, रोनाल्डो भन्दा एक स्थान तल

वर्तमान समयका महान फुटबलरमध्ये एक लियोनल मेसी भारतका सुनिल क्षेत्रीसँग पराजित भएका छन् । मेसीलाई फुटबल इतिहासकै सर्वकालिन महान फुटबलर मध्ये एक पनि मानिन्छ । यद्यपि, उनलाई भारतका कप्तानले पछाडी पारेका छन् ।

अहिले सक्रिय रहेका खेलाडीमध्ये अन्तर्राष्ट्रिय खेलमा देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा मेसी सुनिल क्षेत्रीसँग पराजित हुँदै तेस्रो स्थानमा झरे । यसअघि समान गोलसंख्या भएका मेसी र क्षेत्री दुवै दोस्रो स्थानमा थिए । मेसीले अर्जेन्टिनाका लागि १२८ खेलमा ६५ गोल गरेका छन । क्षेत्रीले १०३ खेलमा भारतका लागि ६५ गोल गरेका थिए ।

तर, दुबईमा जारी एएफसी एसियन कप २०१९ अन्तर्गत आइतबार भएको थाइल्यान्डविरुद्धको खेलमा क्षेत्रीले २ गोल गरे । यससँगै क्षेत्रीले १०४ खेलमा भारतको प्रतिनिधित्व गर्दै गोलसंख्या ६७ बनाए । र, मेसीलाई २ गोलले पछि पार्दै उनी देशका लागि सर्वाधिक गोल गर्ने दोस्रो सक्रिय खेलाडी बने ।

पहिलो स्थानमा फुटबलले पाएको अर्का महान खेलाडी क्रिस्टियानो रोनाल्डो छन । पोर्चुगिज स्टार रोनाल्डोले देशका लागि १५४ खेलमा ८५ गोल गरेका छन । मेसी र रोनाल्डोमा को उत्कृष्ट भन्ने दशक लामो विवादमा अन्तर्राष्ट्रिय गोलको आधारमा अब क्षेत्रीले प्रतिस्पर्धा सुरु गरेका छन ।

तर, ३४ वर्षिय क्षेत्रीले भारतको जर्सी लगाएर मैदानमा उत्रन धेरै समय बाँकी छैन । भर्खर ३० वर्ष पुगेका मेसीले उनलाई उछिनेर रोनाल्डोसँगको प्रतिस्पर्धा कायम राख्नेमा पनि दुई मत छैन । यद्यपि, क्षेत्रीले हासिल गरेको यो उपलब्धि चानचुने पनि होइन ।

मेसीले अर्जेन्टिनाका लागि ओलम्पिकको मेडल बाहेक केही जिताउन सकेका छैनन भने रोनाल्डोले २०१६ मा युरोकप जिताएका थिए । सुनिल क्षेत्री भने यो मामिलामा दुवै खेलाडीभन्दा अगाडि छन । उनले ३ पटक नेहरु कप जिताएका छन भने एकपटक एएफसी च्यालेन्ज कप जिताउन सफल भए । त्यस्तै, उनले भारतलाई दुईपटक साफ च्याम्पियनसिप समेत जिताएका छन ।