मेस्सीलाइ २ बर्षको प्रतिबन्ध लाग्ने

अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीमाथि लामो प्रतिबन्ध लाग्ने खतरा बढेको छ । अघिल्लो दिन कोपा अमेरिका फुटबलमा ब्राजिलमा तेस्रो स्थानका लागि चिली र अर्जेन्टिनाबीच भएको खेल दौरान रातो कार्ड खाएपछि मेस्सीले खेलपछि मिडियासँग बोल्दै महासंघको कडा आलोचना गरेको थिए ।

खेलपछि मेस्सी रेफ्रीले आफूलाई बिनाकारण रातो कार्ड दिएको भन्दै रेफ्रीको आलोचना मात्रै गरेनन्, तेस्रो स्थानका लागि जितेको मेडलसमेत लिन अस्वीकार गरिदिए । त्यत्ति मात्रै हैन, उनले ‘दक्षिण अमेरिकी फुटबल महासँग भ्रष्ट संस्था भएको’ आरोप लगाउँदै आफू भ्रष्टचारको साक्षी नबस्ने बताएका थिए ।

त्यसअघि सेमिफाइनलमा अर्जेन्टिना ब्रालिजसँग २–० ले हार्दा पनि मेस्सीले रेफ्रीको चर्को आलोचना गरेका थिए । रेफ्रीले ब्राजिलको पक्षमा सघाएको उनले आरोप लगाएका थिए । तेस्रो स्थानका लागि खेल दौरान पनि उनले ‘महासंघ भ्रष्ट भएको’ र ‘ब्राजिललाई जिताउन सबै सेटिङ गरिएको’ भन्दै रिसाएका थिए ।

मेस्सीको यस्तो अभिव्यक्तिपछि दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीको अभिव्यक्तिमाथि गम्भीरतापूर्वक छानबिन थाल्ने तयारी गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । ‘बिबिसी’का अनुसार यसै साता महासंघले मेस्सीको अभिव्यक्ति र आरोपमाथि कसरी अघि बढ्ने भनेर बैठक गर्नेछ ।

यदि मेस्सीमाथि महासंघले छानबिन गरेको अवस्थामा र उनी दोषी ठहर भए मेस्सीमाथि दुई वर्षसम्म अन्तर्राष्ट्रिय करिअरमा प्रतिबन्ध लाग्नेछ । महासंघको नियमअनुसार खेल दौरान अपमानजनक व्यवहार गरे, अभिव्यक्ति दिए, कुनै हिंसामा सहभागी भएलगायत मुद्दामा दोषी ठहर भए खेलाडीमाथि दुई वर्षसम्मको प्रतिबन्ध लाग्नसक्ने नियम छ । त्यसमा मोटो जरिमानासमेत हुनेछ ।

यदि मेस्सी सो मुद्दामा दोषी ठहर भएर दुई वर्षको प्रतिबन्धमा परे उनले सन् २०२० मा आयोजना हुने कोपा अमेरिका गुमाउनेछन् । त्यसैगरी, सन् २०२२ मा हुने विश्वकपका छनौट खेलसमेत मेस्सीले खेल्न पाउनेछैनन् ।