मेस्सीको शीर्ष ३ मा रोनाल्डो, तर रोनाल्डोको शीर्ष ३ मा परेनन् मेस्सी

फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गरेको छ । च्याम्पियन्स लिगको उपाधि तथा फिफा विश्वकपमा उपविजेता स्थान हांसिल गरेका लुका मोड्रिचले झन्डै ३० प्रतिशत मत प्राप्त गर्दै उत्कृष्ट खेलाडीको उपाधी जिते । विश्वकपका उत्कृष्ट खेलाडी पनि घोषित भएका उनले १० वर्षे लामो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट खेलाडिको उपाधिमा बाहुल्यता पनि तोड्न सफल भए ।

हरेक राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकले शीर्ष ३ खेलाडी छनोट गरेका थिए । पहिलो स्थानमा रहेको खेलाडीले ५ अंक पाउने गर्छ भने दोस्रो स्थानको खेलाडीले ३ र तेस्रो स्थानको खेलाडीले १ अंक प्राप्त गर्दछ । यसै बीच, अर्जेन्टिनाका कप्तानका रुपमा मेस्सी र पोर्चुगलका कप्तानका रुपमा रोनाल्डोले पनि आ-आफ्ना शीर्ष ३ छनोट गरेका थिए ।

मेस्सीले आफ्नो शीर्ष स्थानमा मोड्रिचलाई, दोस्रो स्थानमा फ्रान्सका किलियन बाप्पेलाई र तेस्रो स्थानमा रोनाल्डोलाई भोट गरेका थिए । रोनाल्डोको शीर्ष ३ मा भने मेस्सी अटाएनन् । रोनाल्डोको पहिलो रोजाईमा फ्रान्सका डिफेन्डर राफायल भरान परे भने मोड्रिच दोस्रोमा परे । तेस्रो रोजाईमा रोनाल्डोले एन्टोइन ग्रिजम्यानलाई राखेका थिए ।