‘मेस्सीको लागि हामी एल क्लासिको जित्छौं’ – लुइस स्वारेज

बार्सिलोनाका स्टार फरवार्ड लुइस स्वारेजले आफूहरूले टोलीका कप्तान लिओनल मेस्सी बिना पनि इएल क्लासिको जित्ने दाबी गरेका छन् र खेल मेस्सीको लागी जसरी भए पनि जित्ने बताए । आइतबार सिजनको पहिलो इएल क्लासिको खेल्नुअघि उनले बार्सिलोनाको अफिसियल मिडियासँग बोल्दै यस्तो दाबी गरेका हुन् ।

यसपटक इएल क्लासिकोमा मेस्सी चोटका कारण खेल्नेछैनन् । उनी अघिल्लो हप्ता सेभिल्लाविरुद्धको खेल दौरान घाइते भएका थिए ।

यसपटक बार्सिलोना मेस्सी बिनै बलियो टोली रियल मड्रिडविरुद्ध आफ्नो घरमा उत्रिँदैछ । उता, रियल मड्रिड पनि सन् २००९ पछि पहिलोपटक आफ्ना पूर्वसुपरस्टार क्रिस्टियानो रोनाल्डोबिनै पहिलोपटक इएल क्लासिको खेल्दैछ । अहिले बार्सिलोनामा मेस्सी र रियलमा रोनाल्डो नहुँदा सिजनको पहिलो इएल क्लासिको कसले जित्ला भन्नेमा अड्कलबाजी चलिरहेको छ ।

स्वारेजले मेस्सी नभए पनि टोलीमा अन्य क्षमतावान् खेलाडी रहेको हुँदा टोलीको प्रदर्शनमा कुनै कमी नहुने बताए । ‘मेस्सी बिना इएल क्लासिको खेल्न हामी हतास भएका छैनौं, बरु थप उत्साहित छौं,’ स्वारेजले भने, ‘मेस्सीबिना पनि बार्सिलोनाले राम्रो खेल्न सक्छ भनेर साबित गर्ने यो अवसर हाम्रा लागि छ र मेस्सीको लागि खेल जित्ने छौं ।’

स्वारेजले रियल रोनाल्डोबिना पनि राम्रो टोली रहेको बताउँदै आफूहरूलाई उसलाई कुनै पनि हालतमा कमजोर नठान्ने बताए । ‘रोनाल्डो नहुँदा रियल कमजोर छ भन्ने हामीले ठानेका छैनौं । किनभने, उनीहरूसँग एकसे एक खेलाडी छन्,’ स्वारेजले भने, ‘उनीहरूका पनि केही कमजोरी छन्, हामी त्यसको फाइदा उठाएर खेल्ने प्रयास गर्छौं ।’