मेस्सीको लागि मात्र होइन, बार्सिलोना नेयमार भित्र्याउने बिषयमा निकै गम्भीर

नेयमारलाइ फर्काउन बार्सिलोनाले फेरि पिएसजीसँग नयाँ प्रस्ताव राख्ने सम्भावना रहेको छ ।

बार्सिलोनाले पहिलाको भन्दा अझै आकर्षक प्रस्ताव पिएसजीलाई दिने पक्षमा रहेपनि के कस्तो प्रस्ताव गर्ने भन्ने निर्णय लिइनसकेको बताइएको छ । पिएसजीसँगको प्रस्तावमा यसअघि फिलिपे काउटिन्हो एउटा मुख्य पात्र थिए । तर अब उनी लोनमा बायर्न म्युनिख गएपछि बार्सिलोनाले पिएसजी सामू फरक प्रस्ताव लिएर जानुपर्ने भएको छ ।

यसअघि बार्सिलोनाले १ सय मिलियन युरोका साथै काउटिन्हो र उसमाने डेम्बेले पिएसजीलाई दिने प्रस्ताव गरेको थियो । तर, ती प्रस्तावमा कुनै सम्झौता हुन सकेन ।

फ्रान्सेली सञ्चारमाध्यमहरुका अनुसार लियोन मेस्सीलाई खुसी पार्नका लागि पनि बार्सिलोनाले नेयमारलाई फर्काउने प्रयास गर्न लागेको हो भन्ने हल्ला भए पनि बार्सिलोना भने यस बिषयमा निकै गम्भीर रहेको र मेस्सीको लागि मात्र भनेर भित्र्याउन खोजेको होइन भन्ने बुझिएको छ ।

टोलीका कप्तानका मेस्सीले नेयमारलाई फर्काउनका लागि व्यवस्थापनलाई दबाब दिइरहेको बताइएको छ । नेयमारले पनि आफु बार्सिलोना फर्कन चाहेको बताउँदै आएका छन् ।

बार्सिलोनाले मात्र होइन रियल म्याड्रिडले पनि नेयमारलाई भित्राउने प्रयास छाडिसकेको छैन । यद्दपी बार्सिलोनाको जस्तै रियलको पनि यसअघिको प्रस्ताव पिएसजीले अस्वीकार गरिसकेको छ ।