मेस्सीको ब्रेसमा पीएसजीको जित

लिओनेल मेस्सीको प्रभावशाली प्रदर्शनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ए को खेलमा बुधबार आरबी लाइप्जिगलाई ३-२ ले पराजित गरेको छ ।

खेलको दोस्रो हाफमा पछि परेपनि पिएसजीका लागि मेस्सीले २ गोल गर्दै जितसम्म डोर्याएका थिए । युवा फरवार्ड किलीयन एमबाप्पेले पनि पिएसजीको जितमा गोल गरेका थिए । उनले खेलको नवौं मिनेटमा जुलियन ड्राक्सलरको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट फिनिस गरेका थिए । तर २८ औं मिनेटमा लाइप्जिगले गोल फर्कायो । एन्जेलिनोको क्रसमा आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा एन्जेलिनोकै क्रसमा नोर्दिक मुकिएलेले गोल गर्दै पाहुना टोलीलाई अघि बढाए । तर ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेल पुन: बराबर गरे । एमबाप्पेको पासमा मेस्सीको प्रहार पोस्टमा लागेपनि मेस्सी आफैंले उक्त रिबाउन्डलाई गोललाइन अघिबाट गोल गरेका थिए ।

७४ औं मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पायो । एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा मेस्सीले पनेन्का (चिप) प्रहार गर्दै गोल गरेका थिए । पिएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी प्राप्त गर्यो । तर ह्याट्रिकमा रहेका मेस्सीले उक्त प्रहार एम्बापपेलाई दिए । एमबाप्पेको पेनाल्टी प्रहार आकसिदा पिएसजीले अग्रता बढाउन सकेन ।

समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ५-१ ले हरायो । यस जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा कायम छ । टोलीको ३ खेलमा ७ अंक छ । सिटीको ३ खेलमा ६ अंक तथा क्लब ब्रुगको ४ अंक छ । आरबी लाइप्जिग भने ३ खेलमा अंकविहिन छ ।