मेस्सीको बार्सा सँगको ठुलो सम्झौता देखे पछि अमेरिकी बास्केटबल स्टारहरू चकित

२०२१को जुन ३०मा ला लिगा क्लब बार्सिलोना र सुपरस्टार मेस्सी बिचको सम्झौता अन्त्य भएको थियो र उक्त सम्झौता खेल जगतकै सबैभन्दा ठुलो रहेको थियो। मेस्सीको बार्सा सँगको उक्त सम्झौता £४९१ मिलियनको रहेको थियो जसमा प्रति सिजन उनले £१२२ मिलियन पाउने खण्ड रहेको थियो र £१०२ मिलियन सम्झौता विस्तार बोनस र £६९ मिलियन ‘वफादारी’ बोनस रहेको थियो।

जुन ३०मा मेस्सीको उक्त सम्झौता अन्त्य भए पछि सबै तिर त्यो सम्झौताको चर्चा भएको थियो भने सो सम्झौता देखे पछि अमेरिकी बास्केटबल स्टारहरू पनि चकित भए। मेस्सीको सो ठुलो सम्झौताको बारे थाहा पाए पछि एनबिएका दुई स्टारले ट्विटर मार्फत आफ्नो भावना देखाए।

मेस्सीले फुटबलबाट कमाइरहेको रकमको बारे पत्ता लागे पछि एनबीए स्टार केभिन डुरान्ट र ईसाइया थोमस स्तब्ध भए। ब्रुकलिन नेट्सका स्टार पावर फोवार्ड केभिन डुरान्टले मेस्सीको उक्त सम्झौताको समाचारको पोस्ट सेयर गर्दै आफ्नो प्रतिक्रिया देखाए।

न्यू अर्लिन्स पेलिकनसका स्टार पोइन्ट गार्ड ईसाइया थोमसले भने आफ्नो बच्चाहरूलाई पनि फुटबल खेलाउन भन्दै मजाक गरे।

हाल मेस्सीको सम्झौता बारे धेरै चर्चा हुँदै गरेको छ। २०२१को जुन ३०मा उनको बार्सा सँगको सम्झौता अन्त्य भए पछि हाल उनी फ्री एजेन्ट रहेका छन् भने बार्सा सँग उनले नयाँ सम्झौता गर्ने खबर रहे पनि अहिले सम्म दुई बिच सम्झौता भने नभएको जानकारी छ।