मेस्सीको दुई गोल बाबजुद बार्सिलोना आफ्नै घरेलु मैदानमा पराजित

ला लिगा अन्तर्गत आइतबारको खेलमा बेटिसले बार्सिलोनाको घरेलु मैदानमा ४-३ को जित दर्ता गरेको हो । पाहुना टोली बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाएका थिए । उनले विलियम कार्भाल्होको पासलाई सदुपयोग गर्दै गोल गरे । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसको अग्रता दोब्बर पारे । उनलाई पूर्व बार्सिलोना खेलाडी क्रिस्टियन टेलोले असिस्ट दिए ।

दोस्रो हाफको सुरुवातमा बार्सिलोनाले केहि अवसर सिर्जना गरेपनि गोल अन्तर कम गर्न असफल रहयो । ६८ औं मिनेटमा लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै गोलअन्तर घटाए । तर त्यसको तीन मिनेटमा नै बेटिसले २ गोलको अग्रता पुन कायम गर्यो । टेलोकै पासमा जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई ३-१ ले अगाडी बढाए ।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका भिडालले ७९ औं मिनेटमा गोल गर्दै पुनरागमनको आशा जगाए । तर इभान राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना खेलमा फर्कने सम्भावना पातलियो । ८३ औं मिनेटमा सर्जियो कानालेसले बार्सिलोनालाई थप समस्या दिए । फिर्पोको पासमा सहज गोल गर्दै कानालेसले २ गोलको अग्रता कायम राखे । इन्ज्युरी समयमा लिओनेल मेसीले गोल फर्काउँदै थोरै आशा जगाएपनि अंक खोस्न भने सकेनन् । उनले भिडालको पासमा सहज गोल गरेका थिए ।

यस हारसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ ।