मेस्सीको दुई गोलमा बार्सिलोनको सहज जित

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै जोर्डी अल्बाको नाममा एक गोल रह्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले तीन गोल गरेको थियो । खेलको ४८ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना २-० ले अघि रह्यो । त्यसपछि खेलको ७३ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाए ।

जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २४ खेलमा ५० अंक जोडेको छ ।

बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ५ अंकले पछि रहेको छ ।