मेस्सीको गोलमा बार्सिलोनाको सेल्टा भिगोमाथि सहज जित

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाको जितमा कप्तान लिओनल मेस्सी र उसामान डेम्बेलेले समान १–१ गोल गर्दै २-० को जित निकालेको छ । बार्सिलोनाले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

खेल सुरु भएको १०औं मिनेटमै डेम्बेलेले गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले विपक्षी गोलरक्षकबाट रि–बाउन्ड भएर आएको बललाई कडा सर्ट लिँदै गोलरक्षकको टाङमुनिबाट छिराएका थिए ।

त्यसपछि खेलको ४५औं मिनेटमा कप्तान मेस्सीले आकर्षक गोल गर्दै अग्रता २–० बनाए । उनले जोर्डी अल्बाको पासमा लामो दूरीबाट कडा प्रहारमा गोल गरेका थिए । मेस्सीको गोलपछि बार्सिलोनाले पहिलो हाफमा २–० को सहज अग्रता लियो । त्यसपछि दोस्रो हाफमा थप आक्रामक बनेको खेलमा बार्सिलोना र पाहुना टोली सेल्टा दुवैले गोल गर्न सकेनन् । र, खेल बार्सिलोनाले २–० ले जित्यो ।

यो जितपछि बार्सिलोना लिगमा १७ खेलपछि ३७ अंकसहित शीर्ष स्थानमा छ । क्रिसमस पर्व र नयाँ वर्षको ब्रेक हुनुअघि उसले अब समान खेल खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग लिगमा ३ अंकको स्पष्ट अग्रता बनाएको छ ।