मेसी ४० को उमेरमा पनि उत्कृष्ट खेल्न सक्छन् : जावी

स्पेनीस जायन्ट बार्सिलोनाका लिजेण्ड जावीका अनुसारका उनका पूर्व क्लब टिममेट लियोनल मेसी ४० को उमेर सम्म पनि उत्कृष्ट खेल्न सक्छन् । हाल मेसी ३१ बर्षका छन् र अन्तर्राष्ट्रिय फुटबलमा उनको भविष्यलाई लिएर विभिन्न अड्कल काटिन थालिएको छ ।

तर जावीलाई लाग्छ मेसीले क्लब लेभलमा भने बार्सिलोनालाई अझै पनि धेरै कुरा दिन सक्छन् । केटलोनिया रेडियोसँग कुराकानीका क्रममा जावीले भनेका छन्, “कहिले काहिं सोच्ने गर्छु मेसी, ३८, ३९ वा ४० को उमेरसम्म पनि खेल्न सक्छन् । यो सब गर्न उनलाई निकै कम मेहनतको खाँचो छ । उमेर बढ्दै गएपछि तपाईंले के गुमाउनु हुन्छ ? आफ्नो स्थान ? मेसीले आफ्नो मानसिक गतिलाई गुमाउने छैनन् । उनी शानदार छन् ।”

स्पेनीस आउटलेट मार्काका अनुसार जावीले मेसीको क्वालिटीको सम्मान गर्छन् । जावीका अनुसार मेसी मैदानमा कुनै पनि भूमिकामा फिट हुन सक्छन् । जावीले अगाडी भनेका छन्, “मलाई लाग्छ मेसी मैदानको जुन क्षेत्रमा खेल्न चाहन्छन्, त्यो क्षेत्रमा उनी खेल्न सक्षम छन् । उनी पहिल्यैदेखि मैदानको सेन्टरमा ड्रिफ्टस गर्छन् र उनी त्यहाँ प्रभावशाली पनि छन् । उनी डिफेन्ड पनि गर्छन्, किनकी उसको मानसिकता निकै बलियो छ ।”