मेसी बेलन डि’अरको पाचौं स्थानमा रहनु हाँस्यास्पद : भाल्भेर्डे

फ्रान्स फुटबलले बार्षिक रुपमा प्रदान गर्ने प्रतिष्ठित बेलन डि अर अवार्डको सूचीमा यस बर्ष अर्जेन्टिनी स्टार लियोनल मेसी पाँचौं स्थानमा पर्नुलाई बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले हाँस्यास्पद बताएका छन् ।

पाँच पटकको बेलन डि अर विजेता मेसी सन् २००६ पछि पहिलोपटक यो अवार्डको शिर्ष तीन भित्र परेनन् । पेरिसमा सोमबार राती सम्पन्न यो प्रतिष्ठित अवार्ड पहिलोपटक रियल मेड्रिडका क्रोएशियन मिडफिल्डर लुका मोड्रिकले जितेका थिए । साथै उनले दशकदेखि यो अवार्डमाथि चल्दै आएको मेसी र रोनाल्डोको बर्चश्व पनि तोडेका थिए ।

उता बार्सिलोनाका म्यानेजर भाल्भेर्डे भने मेसी यो अवार्डका लागि पाँचौं स्थानमा पर्नुलाई उचित मान्न तयार छैनन् । भाल्भेर्डेले भनेका छन्, “बेलन डि अर अवार्ड जितेकोमा हामी मोड्रिकलाई बधाई दिन चाहन्छौं । तर मेसी यो अवार्डको सूचीमा पाँचौं स्थानमा पर्नु हास्यास्पद छ ।”

बेलन डि अर अवार्डको पाँचौं स्थानमा रहेका मेसीले २८० अंक प्राप्त गरेका थिए । त्यस्तै बिजेता मोड्रिकले ७५३ अंक हासिल गरेका थिए भने दोस्रो स्थानमा रहेका क्रिष्टियानो रोनाल्डोले ४७६ अंक प्राप्त गरेका थिए । त्यस्तै क्रमश तेस्रो र चौथो स्थानमा रहेका फ्रेन्च फरवार्डद्वय एन्टोइन ग्रीजम्यान र किलियन एम्बाप्पेले ४१४ र ३४७ अंक प्राप्त गरेका थिए ।

स्मरणीय छ कि मेसीले गत सिजन युरोपको सर्वाधिक गोलकर्ता बन्दै किर्तिमानी पाँचौंपटक गोल्डेन शु जितेका थिए । गत सिजन बार्सिलोनालाई ला लिगा र कोपा डेल रे को उपाधि जिताएका मेसीले कुल ३४ गोल समेत गरेका थिए ।