“मेसी एक्लैले विश्वकप जिताउन सक्दैनन्”

अर्जेन्टिना फुटबल एशोसिएशनका अध्यक्ष क्लाउडियो तापियाका अनुसार स्टार फरवार्ड लियोनल मेसी एक्लैले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन नसक्ने बताएका छन् । बरु विश्वकप उपाधि जित्न अर्जेन्टिनाका अन्य खेलाडीहरुले पनि आफ्नो तर्फबाट उत्कृष्ट खेल्दै मेसीलाई सहयोग गर्नुपर्ने अध्यक्ष तापियाको भनाई छ ।

क्लब करियरमा लगभग सबै उपलब्धी हासिल गरिसकेका मेसीले अर्जेन्टिनाका लागि भने अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन् । गत बर्ष पनि मेसीकै कप्तानीमा अर्जेन्टिनाले ब्राजील विश्वकपको फाइनल खेलेको थियो तर उक्त फाइनल खेलमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित हुँदै उपविजेता बन्न पुगेको थियो ।

चर्चित फुटबल साईट गोलका अनुसार अर्जेन्टिना एफएका अध्यक्ष तापियाले रसियामा हुन गईरहेको फिफा विश्वकप मेसीले जित्न सक्ने अन्तिम विश्वकप र अन्तिम मौका रहेको बताएका छन् । तर मेसीलाई उनको टिममेटहरुले सहयोग नगरे मेसी एक्लैले विश्वकपको उपाधि जित्न नसक्ने समेत तापियाको बुझाई छ ।

ला नासियनसँग कुराकानी गर्दै तापिया भन्छन् “फुटबलमा निकै परिवर्तन आईसकेको छ । हामीसँगै संसार कै उत्कृष्ट फुटबलर मेसी छन् र हामीले उनलाई सहयोग गर्नुपर्छ । उनी एक्लैले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन सक्दैनन् । उनी निकै परिपक्व छन् ।

मेसी हामीसँग हुनु नै हाम्रो लागि विशेष फाईदाको कुरा हो । उनी नम्बर एक खेलाडी हुन् । उनीसँग महत्वकांक्षा छ । उनलाई यो विश्वकप जित्नु आवश्यक छ ।”