मेसी अर्जेन्टिनाबाट नखेल्दा नेयमार खुसी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार अर्जेन्टिना र ब्राजिल भिड्दैछन् । अर्जेन्टिनाका नियमित कप्तान लिओनेल मेसीले विश्वकपयता राष्ट्रिय टोलीबाट खेलेका छैनन् ।

मेसी अर्जेन्टिनी टोलीमा नहुँदा ब्राजिलका कप्तान नेयमारले भने खुसी रहेको बताएका छन् । नेयमारले मेसी नखेल्नु सामान्य दर्शकका लागि दुखद कुरा भएपनि ब्राजिलका लागि भने सुखद खबर रहेको बताए । यद्यपी मेसी उपस्थित नभएपनि टोलीमा पाउलो डिबालाजस्ता खेलाडीले अर्जेन्टिनालाई बलियो बनाएको उनको अभिव्यक्ति थियो ।

‘ आम दर्शकका लागि मेसी नखेल्नु दुखद खबर हो । तर हाम्रो लागि यो राम्रो खबर हो ,’ नेयमारले भने, ‘अर्जेन्टिनासँग डिबाला छन् । मलाई व्यक्तिगत रुपमा पनि निकै मन पर्ने खेलाडी हुन् । त्यसैले हामीले सजग हुन जरुरि छ ।’

‘ खेल निकै कठिन हुने पक्का छ । हामीले आफ्नो योजनाअनुसार खेल्नुपर्छ । यो खेलमा कुन टोली राम्रो भन्ने कहिल्यै हुँदैन । सधैं मैदानमा खेलको छिनोफानो हुन्छ ।‘
नेयमारले करिअरको सुरुआत लेफ्ट विङबाट खेलेर गरेका थिए । क्लब फुटबलमा भने उनी सेन्टर फरवार्डको भूमिकामा पनि देखिन थालेका छन् । २६ वर्षीय नेयमारले शुक्रबार साउदी अरेबियाविरुद्ध २-० को जितमा एलेक्स स्यान्ड्रो र ग्यब्रिएल जेससको गोलमा असिस्ट दिएका थिए ।

‘खेलमा आवश्यकताअनुसार पोजिसन परिवर्तन गर्नुपर्ने हुन्छ । यो निर्णय प्रशिक्षकले लिने हो र हामीले त्यसैअनुसार खेल्ने हो ,’ उनले भने, ‘ पेरिसमा म मध्य भागमा खेलिरहेको छु । ब्राजिलमा मलाई प्रशिक्षकले स्वतन्त्रता दिएका छन् । मैले धेरै पोजिसनमा खेलेको छु र अझैपनि यकिन रुपमा यहि पोजिसनमा उत्कृष्ट छु भन्ने अवस्था छैन ।’

‘ जति खेल्दै गयो, त्यति नै अनुभव बटुल्दै जाने हो । खेलको अवस्था अनुसार आफ्नो टोलीको योजनामा रहेर निर्णय लिनुपर्छ,’ नेयमारले थपे, ‘म ब्राजिलमा प्लेमेकरको भूमिकामा छु । मसँगै कोउटिन्हो, फिर्मिनो, लुकास र जेससले पनि सोहि भूमिका निर्वाह गर्न सक्छन । म आफ्नो योजनामा राम्रो खेल्दै टोलीलाई जिताउन सक्दा खुसी छु ।