मेसीलाई पेप गुआर्डीलाको टोलीमा समावेश गर्न म्यानचेस्टर सिटीले तीन गुणा बादी तलबको प्रस्ताव राखेको खुलासा

बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई पेप गुआर्डीलाको टोलीमा समावेश गर्न म्यानचेस्टर सिटीले तीन गुणा बादी तलबको प्रस्ताव राखेको खुलासा भएको छ । मेसीले त्यसका बाबजुद बार्सिलोना छाडेर सिटी नजाने निर्णय गरे ।

मेसीले पछिल्लोपटक बार्सिलोनामा नयाँ सम्झौता गर्नुअघि सिटीले मेसीलाई सो प्रस्ताव गरेको थियो । क्लबले मेसीलाई बार्सिलोनाभन्दा तीन गुणा बढी तलब सहितको प्रस्ताव पनि राखेको थियो । तर ३१ वर्षीय मेसीले आफ्नो करिअर एकै क्लबमा रहने भन्दै सो प्रस्ताव नकारेका हुन् । म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी खल्डून अल मुबारकले यसको खुलासा गरेका हुन् ।

‘हामीले गुआर्डीओलालाई मेसीसँग वार्ता गरेर तीन गुणा तलबको प्रस्ताव राखेका थियौं । तर मेसी बार्सिलोना नछाड्ने निर्णयमा अडिग रहे,’ मुबारकले भने । मेसीले २०१७ को नोभेम्बरमा नयाँ सम्झौता गरिसकेका छन् । उनको नयाँ सम्झौता सन् २०२१ सम्म रहनेछ । मेसीको रिलिज कलज ७ सय मिलियन युरो राखिएको छ ।

यता बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले भने मेसी जिन्दगीभर बार्सामै रहने बताए । ‘ हामी हरेक सिजन मेसीको सम्झौता परिवर्तन गर्दै गएका छौं । उनले हरेक सिजन आफूलाई सुधारेका छन् । यो सत्य हो कि उनको करिअर बार्सिलोनामा अन्त्य हुनेछ, ‘ उनले भने । मेसीले हालसम्म क्लबका लागि ७ सय खेल खेलेका छन् ।