‘मेसीनै मेरो आइडल खेलाडी हुन’ – नेमार

नेमारले बार्सिलोनाका पूर्व सहकर्मी लियोनल मेसी आफ्नो आइडल रहेको बताएका छन् । त्यस्तै उनले क्रिस्टियानो रोनाल्डोलाई फुटबलका दानवको संज्ञा दिएका छन् । ब्राजिलियन सुपरस्टारले ४ वर्ष बार्सिलोना बिताउँदै मेसीसँग उत्कृष्ट साझेदारी गरेका थिए ।

एमएसएनको साझेदारीका रुपमा बार्सिलोना चर्चित थियो । मेसी, नेमार र अर्का फरवार्ड लुइस स्वारेजका कारण एमएसएन भनिएको थियो । अग्रपंक्तिमा यी तीन खेलाडीको साझेदारीका कारण नेमार ४ वर्ष क्लबमा रहँदा बार्सिलोनाले २ ला लिग, ३ कोपा डेल रे, च्याम्पियन्स लिग एक पटक जितेको थियो ।

नेमार गत वर्ष १ सय ९८ मिलियन पाउन्डमा गत वर्ष पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । स्पेनमा रहँदा नेमारले पटक पटक रोनाल्डोको सामना गरेका थिए । बास्केबलका उत्कृष्ट खेलाडी स्टेफन करीसँगको भेटमा मेसी र रोनाल्डोको प्रशंसा गर्दै नेमारले उनीहरुबाट आफुले धेरै सिकेको बताएका छन् ।

‘मैले मेसीसँग खेले । उनी मेरो लागि सर्वकालिन उत्कृष्ट खेलाडी मध्येका एक हुन् । फुटबलमा उनी मेरो आदर्श हुन्,’ उनले भने, ‘मैले मेसीबाट हरेक दिन सिके, अभ्यास र खेलका दौरान । त्यस्तै हेरेर पनि सिके । जसले मलाई थप बलियो र आफ्नो क्षमता बढाउनका लागि मद्दत गर्यो ।’

रोनाल्डोका विषयमा पनि नेमारले आफ्नो अनुभव साटेका छन् । ‘रोनाल्डोको सामना गर्न पाउनु गर्वको विषय हो । उनीसँग खेल्दा निकै तयार अवस्थामा रहनुपर्ने हुन्छ,’ उनले भने, ‘उनी उत्कृष्ट खेलाडी मध्येका एक हुन् । निकै चलाख छन् । उनीबाट पनि धेरै सिक्ने चिज छन् ।’

नेमारले मेसी र रोनाल्डो विषयमा थपे, ‘उनीहरु फुटबलका दुई ठूला नाम हुन् । त्यसैले उनीहरुसँगको प्रसंग छोडिन्छ । म उनीहरुभन्दा बढी भन्दा बढी सिक्न, जित्न, बढी भन्दा बढी उपाधि जित्न र बढी भन्दा बढी गोल गर्न चाहन्छु । त्यसले उनीहरबाट हरेक दिन केहि न केहि सिक्ने विषय हुन्छ ।’