मेसीको ह्याट्रिकमा बार्सिलोनाको जित

लिओनेल मेसीले उत्कृष्ट ह्याट्रिक प्रहार गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह चरणको पहिलो खेलमा पीएसभीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाले कप्तान लिओनेल मेसीको फ्रिकिक गोलसँगै खेलमा सुरुआती अग्रता बनाएको थियो । खेलको ३१ औं मिनेटमा पीएसभीका डिफेन्डर भिएरगिभरले ओस्मान डेम्बेलेलाई लडाएपछि प्राप्त फ्रिकिकमा मेसीले गोल गरेका थिए । पेनाल्टी क्षेत्रबाहिर मैदानको मध्ये भागमा प्राप्त फ्रिकिकलाई मेसीले वालको माथिबाट प्रहार गर्दै टप कर्नरमा छिराएका थिए । गोलरक्षक जोएटले प्रयास गरेपनि बलसम्म पुग्न भने सकेका थिएनन् । यसै गोलको मदतले बार्सिलोनाले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा लगातार आक्रमण गरेपनि बार्सिलोनाले अग्रता दोब्बर पार्न भने निकै मिहिनेत गर्नुपर्यो । ७४ औं मिनेटमा फ्रान्सेली युवा फरवार्ड डेम्बेलेले एकल प्रयासमा स्तरीय गोल गरे । उनले दुई डिफेन्डरलाई छलाउँदै पेनाल्टी क्षेत्रको ठिक बाहिर भागबाट शक्तिशाली प्रहार गर्दै गोलरक्षक जोएटलाई बिट गर्दै गोल गरेका थिए ।

लगत्तै ७७ औं मिनेटमा मेसीले दोस्रो गोल गर्दै खेलमा बार्सिलोनाको जित पक्का गरे । इभान राकीटिचले मिडफिल्डबाट डिफेन्स लाइनको माथिबाट उत्कृष्ट पास निकालेपछि मेसीले तीव्र गतिमा कुद्दै पहिलो प्रहारमै विपक्षी गोलरक्षकलाई बिट गरेका थिए । त्यसको दुई मिनेटपछि नै बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । डिफेन्डर स्यामुएल उम्टिटीले हर्भीङ लोजानोलाई रोक्ने प्रयासमा दोस्रो पहेंलो कार्ड खाएपछि बार्सिलोनाले एक खेलाडी कम खेलेको थियो ।

खेलको ८९ औं मिनेटमा मेसीले ह्याट्रिक पूरा गर्ने क्रममा बार्सिलोनालाई ४-० को अग्रता दिलाए । मैदानको दायाँ भागबाट गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । समकक्षी फरवार्ड लुइस सुआरेजले डिफेन्स लाइन बिट गर्दै दिएको पासलाई मेसीले आफ्नो कमजोर दायाँ खुट्टाले प्रहार गर्दै गोलमा परिणत गरेका हुन् ।

मेसीको उत्कृष्ट प्रदर्शनमा प्रेरित बार्सिलोनाले यस जितसँगै समूहमा सुरुआती अग्रता कायम गरेको छ । समूहको अर्को खेलमा इन्टर मिलानले टोटेनहम हट्स्परलाई पराजित गर्यो । स्पर्सले खेलमा क्रिस्टियन एरिक्सनको गोलमा अग्रता लिएपनि इन्टरले अन्तिम समयमा पुनरागमन गर्यो । इन्टरका लागि कप्तान माउरो इकार्डी र माटिया भेचिनोले गोल गरे । दुवै विजयी टोलीको ३-३ अंक रहेपनि गोल अन्तरका आधारमा बार्सिलोना शीर्षस्थानमा छ