“मेसीको आरोप आधारहीन छ, उनि माथि कारबाही गर्ने तयारी हुने छ”- कोनमेबोल

दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका र अर्जेन्टिनी फुटबलर लियोनल मेसी विवादमा परेका छन्। ब्राजिलमा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा अर्जेन्टिनी कप्तान मेसीले प्रतियोगिता आयोजक दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसन (कोनमेबोल) माथि भ्रष्टाचारको आरोप लगाएपछि विवाद बढेको हो।

शनिबार राति कोपा अमेरिका फुटबलको तेस्रो स्थानका लागि चिलीसँग भएको खेलमा अर्जेन्टिनी कप्तान मेसीले रेड कार्ड पाएका थिए। चिलीका ग्यारी मेडेलले मेसीलाई धकेल्दै छाती जुधाएका थिए। रेफ्रीले ग्यारी र मेसी दुवैलाई रेड कार्ड देखाएका थिए। यो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो। रेड कार्ड पाएका मेसी खेलपछि तेस्रो स्थानको पदक लिन पनि गएनन्। उनले १४ वर्षपछि रेड कार्ड देख्नुपरेको हो। अर्जेन्टिनाको फुटबल एसोसिएसनले रेफ्रीले गम्भीर गल्ती गरेको उजुरी गरेको थियो।

मेसीले कोनमेबोल भ्रष्ट रहेको र उनीहरूकै मिलेमतोमा रेफ्रीसहितको सहयोगमा आयोजक ब्राजिलका लागि उपाधि जिताउन खोजेको आरोप लगाएका थिए। ‘हामी यो भ्रष्ट प्रक्रियाको अंश बन्नु आवश्यक छैन,’ मेसीले खेलपछि भने, ‘पूरा प्रतियोगिताभर उनीहरूले हामीप्रति कुनै सम्मान दर्शाएनन्।’ भ्रष्टाचारी र रेफ्रीहरूले दर्शकलाई फुटबलको मज्जा लिन नदिएको र केही हदसम्म प्रतियोगितालाई नै नष्ट गरेको मेसीको आरोप छ। उनले यो आरोप लगाएपछि भएको फाइनलमा पेरुलाई ३–१ ले हराउँदै आयोजक ब्राजिलले नवौँ पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ। यो उसको सन् २००७ पछिको पहिलो उपाधि हो। अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग नै पराजित भएको थियो।

कोनमेबोलले मेसीको आरोप आधारहीन रहेको भन्दै उनीमाथि कारबाही गर्ने तयारी गरेको छ। उसले आफ्नो विज्ञप्तिमा मेसीको नाम उल्लेख नगरी भनेको छ– ‘प्रतियोगिताको आधाभूत स्तम्भ नै स्वच्छ खेल, विश्वास र आदर हो।’ यस्ता निराधार आरोपले कोपा अमेरिकाको प्रतिष्ठालाई आँच पुर्‍याउने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ। ‘यस्ता आरोपले प्रतियोगितामाथिको अपमानलाई दर्शाउँछ,’ कोनमेबोलले भनेको छ, ‘खेलाडी र पदाधिकारीको पनि अपमान भएको छ।’