सावित्रा भण्डारी नेपाली महिला फुटबलको परिचित नाम हो । राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’नामले पनि परिचित छिन् ।
सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएकी सावित्राले फुटबलमा छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी छिन् ।
भर्खरै सम्पन्न भारतको ‘हिरो महिला लिग फुटबल’मा पनि उत्कृष्ट प्रदर्शन गर्दै उनी सर्वाधिक गोलकर्ता बनिन् । उनले आफू आबद्ध टीम गोकुलम केरेलालाई च्याम्पियन बनाउन कुल १६ गोल गरिन् । सावित्राको यस किसिमको सफलताको पछाडिको राज के हो त ?
यो सफलता पछाडिको संघर्ष र उनको फुटबल करियर कसरी अगाडि बढिरहेको छ त ? भन्ने विषयमा न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’माउनै सावित्रा भण्डारीसंग विशेष कुराकानी गरेको छ ।
भर्खरै मात्र भारतबाट नेपालीआइपुगेकी स्ट्राइकर साबित्राले टिभी जर्नलिष्ट बीरेन्द्र जैरुसंगको कुराकानीमा समग्रमा लिग आफ्नो लागि धेरै राम्रो भएको बताउँदै भनिन्, ‘गत सिजनमा पनि मैले जिकेएफसीबाट खेलेकी थिए ।
जसलाई मैले च्याम्पियन बनाएकी थिए । २०१९ लाई नै मैले निरन्तरता दिदै २०२० मा पनि गोकुलम केरेलालाई च्याम्पियन बनाउन सफल बने । स्ट्राइकरको रुपमा मैले हाइस्कोररको रुपमा सपना बनाएकी थिए, जुनचाँहि मैले साकार पारे । जे होस् खुसी छु ।’
उनले थपिन्, ‘व्यक्तिगत परफरमेन्सको बारेमा भन्नुपर्दा मैले स्टार्टिङ फेजमा मलाई धेरै गाह्रो भएको थियो । टिमसँग घुलमिल हुन पाएकी थिइन । मैले एकैचोटी टुर्नामेन्ट खेले । मैले त्यहाँ ट्रेनिङ पनि गर्न पाइन । त्यहाँको टीमसंगै बसेर ट्रेनिङ गर्न पाएकी भए केहि हदसम्म बुझ्थे होला । तर, मलाई टीम कक्बिनेशन बुझ्नका लागि एक÷दुई म्याच धेरै कठिन भयो ।’
आफूले टीमसंग एक÷दुई म्याच खेलिसकेपछि मात्रै टिम फर्ममा आएको बताइन् । गतवर्ष जस्तै यो वर्ष पनि गोकुलम केरेलालाई सफल बनाउन सफल भएकी हुनाले त्यहाँ पनि धेरै दर्शकहरु कमाएकी उनको तर्क छ । उनले भनिन्, ‘गोकुलम केरेलाएफसीका मेम्बरहरुले अझैं पनि उत्तिकै माया गर्नु हुन्छ ।’ कुराकानीको क्रममा सावित्राले आफ्नो लक्ष्य यूरोपको मैदान भएको पनि बताइन् ।