माल्दिभ्सविरुद्ध नेपाली टोलीमा कुनै परिवर्तन छैन, बाङ्लादेश विरुद्धकै खेलाडी

साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि नेपालको सुरुआती ११ घोषणा भएको छ । शनिबार बंगलादेशविरुद्ध भएको समूह चरणको अन्तिम खेलमा खेलबाट प्रशिक्षक बालगोपाल महर्जनले कुनै परिवर्तन गरेका छैनन् ।

नेपालको सुरुआती एघारमा किरण चेम्जोङ गोलरक्षक छन् । डिफेन्समा अनन्त तामाङ, आदित्य चौधरी सहित सुमन आर्याल र दीनेश राजवंशीले रहनेछन् । मिडफिल्डको जिम्मेवारी रोहित चन्द, सुनील बल, निराजन खड्का र सुजल श्रेष्ठले सम्हाल्नेछन् । निकै प्रतिस्पर्धात्मक देखिएको आक्रमणमा विमल घर्ति मगर र भरत खवासले खेल्ने छन् । भरतले टोलीको कप्तान पनि रहने छन् ।

बंगलादेशविरुद्ध दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै दोस्रो गोल गरेका नवयुग श्रेष्ठ बेन्चमा नै रहेका छन् । यस्तै विराज महर्जन,अन्जन विष्ट र विशाल राई पनि वैकल्पिक खेलाडीको रुपमा अवसरको प्रतिक्षामा हुनेछन् । सेमिफाइनल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । अर्को सेमिफाइनलमा साँझ ७:१५ बजे भारत र पाकिस्तान भिड्नेछन् ।