माल्दिभ्सलाई कमजोर आँकेका छैनौं : महर्जन

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल मर्हजनका अनुसार आफू र आफ्नो टोलीले माल्दिभ्सलाई कमजोर नआँक्ने बताएका छन् ।

सोमबार ढाकामा सञ्चारमाध्यमसँग कुरा गर्दै प्रशिक्षक महर्जनले भने, “माल्दिभ्स राम्रो टोली हो । हामीले उनीहरुलाई हलुका रुपमा लिएका छैनौं । माल्दिभ्सको टोलीमा अली अश्फाक र अन्य चर्चित अनुहारहरु छैनन् । तर पनि उनीहरु राम्रो खेल्छन् ।”

माल्दिभ्सले आइतबार साफ सुजुकी कपको समूह बी तर्फ भारतसँग पराजित भएर पनि कोइन टोसमा श्रीलंकालाई पछि पार्दै सेमिफाइनल यात्रा तय गरेको थियो । समूह बी तर्फ माल्दिभ्स र श्रीलंकाको समान अंक र समान गोल भिन्नता भएपनि आयोजकको नियमअनुसार कोइन टोस गरिएको थियो । जसमा माल्दिभ्स भाग्यमानी साबित भईदियो ।

कुराकानीका क्रममा महर्जनले अगाडी भनेका छन्, “सकरात्मक कुरा त हामीले तीन खेलमा सात गोल गर्न सफल भएका छौं । हाम्रो आत्मविश्वास बढेर गएको छ । खेलाडीहरुले कुनै पनि बेला गोल गर्न सक्छन् भन्ने कुरा प्रमाणित गरेका छन् । लामो समयपश्चात् टिम नेपाल सही लयमा फर्किएको छ ।

म खुशी छु किनकी टिम सेटमा पनि राम्रो खेलाडीहरु छन् र हामीलाई बेन्चमा पनि खेलाडीहरुको कुनै समस्या छैन । उनीहरु सबै क्षमतावान छन् र मैदानमा आफ्नो उपस्थिति प्रमाणित गर्न सक्छन् ।

हाम्रो रणनीतिअुनुसार हामीले माल्दिभ्सलाई हराउने विश्वास लिएका छौं । मैले पहिल्यै भनेको थिएँ, हाम्रो पहिलो लक्ष्य नकआउट र त्यसपछि उपाधितर्फ हुनेछ । अब उपाधितिर ध्यान दिने समय आएको छ ।”

साफ सुजुकी कपतर्फ बुधबार नेपालले पहिलो सेमिफाइनलमा माल्दिभ्सको सामना गर्दैछ भने सोही दिन साविक विजेता भारत र पाकिस्तान पनि आमने सामने हुँदैछन् ।