माल्दिभ्समा किरणको टिम टिसीको उत्कृष्ट जित

गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा फराकिलो जित निकालेका छन् । टिसीले मंगलबार राति भएको खेलमा फोकाईधु क्लबलाई ५ – १ गोल अन्तरले हराएको हो । टिसीलाई जित दिलाउन मोहमद समीरले ह्याट्रिक गरे ।यस्तै इब्राहिम महुधी र अली अस्फाकले एक एक गोल गरे । फोकाईधुका अहमद उसमानले सान्त्वना गोल फर्काए ।

माल्दिभ्सको उच्च श्रेणीको लिग धिवेही प्रिमियर लिगको दोस्रो सिजन खेलिरहेका किरणले फोकाईधुविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । किरणले फोकाईधुको केहि उत्कृष्ट आक्रमणहरु बचाएका थिए ।

यो जितसंगै टिसी लिगको शीर्ष स्थानमा कायम रहेको छ । टिसीले १२ खेलबाट ३३ अंक जोडेको छ । ९ अंक जोडेको फोकाईधु सातौं स्थानमा छ ।