मार्सेलो रियल म्याड्रिड छोडेर रोनाल्डो संग युभेन्ट्सबाट खेल्न चाहन्छ

स्पेनिस मिडियामा आएका रिपोर्टस अनुसार मार्सेलो आफ्ना पूर्वसहकर्मी तथा खास मित्र क्रिस्टियानो रोनाल्डोसँग खेल्न युभेन्टस जाने भएका हुन् । रियलले आफ्ना ब्राजिलियन खेलाडीको सम्भावित सरुवालाई ध्यानमा राख्दै मार्सेलोको स्थानमा भित्र्याउने खेलाडीको खोजीसमेत गर्न थालेको छ । त्यसका लागि उसले रियल बेटिसका लेफ्ट ब्याक जुनियर फिर्पोलाई मार्सेलोको ठाउँमा भित्र्याउने तयारीसमेत थालेको छ ।

स्पेनको समाचार स्रोत उद्धृत गर्दै इटालीको पत्रिका ‘टुटो स्पोर्टस्’ले पनि युभेन्टस मार्सेलो भित्र्याउन लागि परेको जनाएको छ । रोनाल्डोको योजनाअनुसार युभेन्टसले मार्सेलोलाई भित्र्याउन चाहेको छ ।

खबरअनुसार रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजले पनि मार्सेलोेको युभेन्टस सरुवाका लागि बाटो खोलिदिन तयार देखिन्छन् । उनले मार्सेलोको स्थानमा नयाँ खेलाडी भित्र्याउने तयारी थालेर यसको जनाउ दिएका हुन् ।

रियलमा छँदा रोनाल्डो र मार्सेलो नजिकका साथी थिए । मैदानबाहिर उनीहरूको सम्बन्ध जति सुमधुर थियो, मैदानमा पनि उत्तिकै उत्कृष्ट तालमेल थियो ।