मार्सेलोले ‘एल क्लासिको’ गुमाउन सक्ने

आगामी अक्टोबर २८ अर्थात् आजको ३ दिनपछि स्पेनिस ला लिगामा सिजनको पहिलो इएल क्लासिको खेल हुँदैछ । तर, उक्त खेलको मुखमा रियल मड्रिड भने आफ्ना प्रमुख खेलाडी मार्सेलोको चोटलाई लिएर तनावमा छ ।

मार्सेलो २ दिनअघि युरोपियन च्याम्पियन्स लिगमा भिक्टारिया प्लेजनसँगको खेलक्रममा घाइते भएका थिए । उनले दोस्रो हाफमा मैदान छाडेका थिए । हालसम्म कलब रियलले मार्सेलोेले बार्सिलोनाविरुद्धको खेल खेल्ने–नखेल्नबारे स्पष्ट नपारे पनि मार्सेलोले खेल्ने सम्भावना ज्यादै कम रहेको बताइएको छ ।

यदि मार्सेलो बार्सिलोनाविरुद्धको खेलमा उपलब्ध नभए त्यो रियलका लागि ठूलो चुनौती हुन सक्छ । किनभने, टोली रियल खराब अवस्थामा रहेका बेला उसले गरेका पछिल्ला दुई खेलका ३ गोलमा २ गोल मार्सेलोले नै गरेका थिए ।

यसअघि मार्सेलोले ला लिगामा आफ्नो घरमा लेभान्टेसँग हार्दा पनि १ गोल गरेका थिए भने पछिल्लोपटक प्लेजनसँग खेल्दा उनले गरेको गोल जितका लागि निर्णायक भएको थियो ।
मार्सेलो दुई साताअघि पनि घाइते भएका थिए । उनी अघिल्लो हप्ता भएको लेभान्टेसँगको खेलबाट मैदान फर्किएका थिए ।