मार्सेलोका लागि युनाइटेड २६ मिलियन पाउन्ड तिर्न तैयार

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेड यो ट्रान्सफर सिजन इन्टर मिलानका मिड्फिल्डर मार्सेलो ब्रोजोभिच भित्र्याउन इच्छुक देखिएका छन्। रिपोर्टका अनुसार युनाइटेड मार्सेलोका लागि २६ मिलियन पाउन्ड तिर्न पनि तैयार छन्।

क्रोएसियन डिफेन्सिभ मिड्फिल्डर ब्रोजोभिचले इन्टर र आफ्नो राष्ट्रिय टोलिका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। रिपोर्टका अनुसार युनाइटेड वेस्ट ह्यामका डिफेन्सिभ मिड्फिल्डर डेक्लन राइस भित्र्याउन इच्छुक भएता पनि उनको मूल्य उच्च हुन सक्ने भएकाले युनाइटेडको नजर ब्रोजोभिच माथी पर्न गएको हुन सक्ने आंकलन गरिएको छ। युनाइटेडको टोलिमा स्कट मिकटोमिने र नेमान्या म्याटिच जस्ता डिफेन्सिभ मिड्फिल्डरहरु पनि छन्।
२८ वर्षका क्रोएसियन खेलाडी ब्रोजोभिच २०१५ मा इन्टर मिलानमा अनुबन्ध भएका थिए। उनले इन्टरका लागि २४२ खेल खेल्नुका साथै २४ गोल पनि गर्न सफल भएका छन्।