एजेन्सी । १८ डिसेम्बरमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि जित्यो । सो विश्वकपमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरे । उनले नै गोल्डेन ग्लोब्स अवार्ड जिते । विश्वकपमा शानदार प्रदर्शन गर्दै अर्जेन्टिनालाई उपाधि दिलाए पनि मार्टिनेज आलोचनाबाट भने मुक्त हुन सकेनन् ।
विपक्षी खेलाडीप्रति गर्ने व्यवहारका कारण उनको आलोचना भएको हो । विशेषगरी मार्टिनेजले फ्रान्सका स्टार केलियन एम्बाप्पेलाई बारम्बार गिज्याइरहेका छन् । तर, एम्बाप्पेले भने आफूलाई ती कुराले कुनै फरक नपार्ने बताएका छन् । फाइनलमा भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि नायक बनेका मार्टिनेजले त्यस यता एम्बाप्पेलाई निरन्तररूपमा गिज्याइरहेका छन् ।
पछिल्लोपटक उनी पीएसजीका स्टार खेलाडीको अनुहार टाँसिएको गुडियासहित टिम बसमा खुसीयाली मनाइरहेको देखिएका थिए । यसअघि उनले फाइनल खेलपछि ड्रेसिङ रुममा फ्रेन्च स्ट्राइकरका लागि एक मिनेट मौन धारण गर्न आग्रह गरेका थिए । तर, एम्बाप्पेले भने त्यस्ता व्यर्थको कुरामा आफूले ऊर्जा बर्बाद नगर्ने स्पष्ट पारेका छन् ।
‘त्यो खुसीयाली मनाउने तरिका मेरो समस्या होइन,’ स्टसबर्गमाथि पीएसजीको २–१ को जीतपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘म व्यर्थको कुरामा ऊर्जा बर्बाद गर्दिनँ । अहिले मैले मेरो क्लबका लागि शत प्रतिशत दिनु मेराका लागि महत्त्वपूर्ण हो । हामी लियोनेल मेस्सीले पनि क्लबका लागि गोल गर्दै जीत दिलाउने अपेक्षा गरिरहेका छौँ ।’
‘विश्वकपपछि मैले मेस्सीसँग कुराकानी गरे, उनलाई बधाई दिएँ,’ उनले थपे, ‘मेरोजस्तै उनको यो जीवनको उद्देश्य थियो, म असफल भएँ, त्यसैले तपाईं सधैँ राम्रो स्पोर्टस्म्यान हुनुपर्छ । म फाइनलको हारलाई भुलाउन सक्दिनँ । तर, मेरो टोलीको असफलताका लागि मेरो क्लब जिम्मेवार होइनँ । त्यसैले म सकारात्मक ऊर्जाका साथ खेलमा फर्किएको छु ।’