मानसिक रुपमा पनि बलिया छन् मेस्सी: भल्भार्दे

मेस्सीले टिमका लागि लिने जिम्मेवारी सबैभन्दा राम्रो कुरा हो । घाइते रहेको अवस्थामा समेत उनी खेल्न चाहन्छन् । उनी जहिल्यै अघि बढ्छन् र मानसिक रुपमा पनि बलियो देखिन्छन् ।

अन्य खेलाडीमा उनको भनाई यस्तो छ:

आर्थरसँग त्यस्तो गुणहरु छ जुन बार्सिलोनाको खेल्ने तरिकासँग एकदमै मेल खान्छ । त्यसै गरि लेङलेटको बारेमा उनले भने, विभिन्न कारणहरुले गर्दा सेन्टर ब्याकमा उनी अति आवश्यक पर्ने खेलाडी बनेका छन् । माल्कोम त्यस्ता दुर्लभ खेलाडी हुन् जसले खेलमा भिन्नता ल्याउन सक्छन् । घाइते रहेका कारण उनलाई केही अप्ठ्यारोहरु पर्यो । तर, उनको भविष्य निकै राम्रो छ ।

भिडाल यस्ता खेलाडी हुन् जसले हरेक खेलमा सतप्रतिशत मेहनत देखाउँछन् । तपाइँलाई थाहा छ, उनले रियल मड्रिडविरुद्ध होस् या कल्चरल लियोनेसाविरुद्ध नै किन नहोस् मेहनत उस्तै देखाउँछन् । त्यसै गरि हामीलाई डिफेन्समा यस्तो खेलाडी चाहिएको थियो जो आउने वित्तिकै टिममा मिसिन सकोस् । अनुभवि होस् । त्यो मुरिलो हुन् ।

डेम्बलेबारे हामीले धेरै कुरा गरेका छौँ । उनले केही कुरामा ध्यान नदिएका कुरा पनि आएका छन् । तर जे जस्तो भएपनि मैदानमा जाने बेला हामीलाई डेम्बेले जस्तो एउटा खेलाडीको आवश्यकता पर्छ । लुइस स्वारेजसँग त्यस्तो स्वभाव छ, जसले पहिलेभन्दा धेरै नै राम्रो भइसकेका छन् । हरेक पटक थप उत्कृष्ट देखिन्छन् । उनीसँग जहिल्यै सजग रहनुपर्छ ।

इन्टर मिलानसँगको खेलमा बेला कोटिन्हो राम्रो फर्ममा थिए । तर, दुर्भाग्य त्यति नै बेला घाइते हुन पुगे । त्यसले गर्दा नै उनलाई अप्ठेरो पर्यो । पिकेले हरेक खेलमा निकै राम्ररी खेलेका छन् । खेल्ने बेला मात्रै होइन, अरु बेला पनि अन्य समस्याहरुको बारेमा बताइरहेका हुन्छन् । कुनै अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने उनको शैली निकै राम्रो छ ।