महेन्द्रसिंह धोनीद्वारा सन्यासको घोषणा

३१ साउन । भारतका चर्चित क्रिकेटर एवं सफल कप्तान मानिएका महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् ।

क्रिकेटर धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्यासको घोषणा गरेका हुन् । धोनीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईहरु सबैको सहयोग र मायाको लागि धन्यबाद । साँझ ७ः२९ बजेबाट मलाई रिटायर्ड हुन मन लाग्यो ।’

त्यस्तै, उनले आफ्नो पोष्टमा करियरको उतार चढावलाई ‘मै पल दो पलका शायर हुँ’ गीत भन्दा पनि सुन्दर अन्दाजमा देखाएका छन् । यसरी क्रिकेटर धोनीले सन्यास लिएसँगै विगतका १५/१६ वर्षदेखि भारतीय क्रिकेटमा चल्दै आएको धोनीको चमत्कारिक युग सकिएको छ ।

उनी भारतीय क्रिकेटको दुनियामा सबै भन्दा बढी सफल कप्तान बन्न सफल भएका छन् । विश्व क्रिकेटमै पनि महेन्द्र सिंह धोनी एकलौटी कप्तान हुन्, जसले आईसीसीको तीन ठूलो ट्रफीमा पनि कब्जा जमाउन सफल बने ।

धोनीकै कप्तानीमा भारतीय आईसीसीको वल्र्ड टी–२० (२००७), क्रिकेट वल्र्ड कप (२०११) र आईसीसी च्याम्पियन्स ट्रफी (२०१३)को टाइटल जितेको थियो ।