महिला साफ यु-१५ : नेपालले आज भुटानसंग खेल्दै

ढाका । बंगलादेशमा जारी चौथो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज भुटानको सामना गर्दैछ । नेपाल–भुटानबीचको खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा स्थानिय समयअनुसार दिउँसो सढे ४ बजे सुरु हुनेछ ।

नेपाल भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने सोचमा छ । भुटान पनि पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । उसले पहिलो खेलमा घरेलु टोलीसँग ८–० को फराकिलो हार बेहोरेको थियो ।

नेपालले साफ यू–१५ मा भुटानलाई हराउन सकेको छैन । यसअघि यी दुई तीन खेलमा आमनेसामने भएका छन्, जसमा भुटानले एक खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

२०१७ को पहिलो भेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । २०१८ मा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पेनाल्टी सुट आउटमा ४–३ ले पराजित भएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । २०१९ को पछिल्लो भेटमा पनि यी दुईले १–१को बराबरी खेलेका थिए ।