नेपाली महिला क्रिकेट खेलाडीले पहिलोपल्ट मासिक तलब पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय टोलीसँगै महिला टोलीलाई पनि सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय गरेको छ ।
१८ महिला क्रिकेट खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखेर वर्गीकरण गरिने भएको छ ।
महिला क्रिकेटरलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरी मासिक तलब सुविधा दिने निर्णय क्यानले गरेको छ । सन् २००७ देखि नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्दै आए पनि कुनै तलब सुविधा भने पाएका थिएनन् । अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जाँदा पाउने भत्ताकै भरमा महिला क्रिकेट टोली टिक्दै आएको थियो ।
क्यानले पुरुषतर्फ २४ खेलाडीले सेन्ट्रल कन्ट्र्याक्ट दिने भएको छ । उनीहरूलाई ‘ए प्लस’, ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिने क्यानले जनाएको छ ।
प्रस्तावना तयार पारी संघमा पेश गर्न क्यानले कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा सदस्यद्वय अमितवीर पाण्डे र दुर्गाराज पाठक सदस्य रहने गरी समिति गठन गरेको छ ।
पुरुष राष्ट्रिय टोलीले ५ वर्षदेखि सेन्ट्रल कन्ट्र्याक्टमा रहेर मासिक तलब पाउँदै आएका थिए । त्यतिबेलाको सेन्ट्रल कन्ट्र्याक्टअनुसार ‘ए’ श्रेणीले ३५ हजार, ‘बी’ श्रेणीले २५ हजार, ‘सी’ श्रेणीले १० हजार र ‘डी’ श्रेणीले मासिक ५ हजार रुपैयाँ पाउँदै आएका थिए । क्यान निलम्बन भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गरेको नयाँ वर्गीकरणअनुसार ‘ए’ श्रेणीमा रहेकाले ३५, ‘बी’ श्रेणीमा रहेकाले २५ हजार र ‘सी’ श्रेणीमा रहेकाले मासिक १५ हजार तलब पाउँदै आएका थिए ।
क्यानले एकदिवसीय र ट्वान्टी–२० खेल्ने नेपाली पुरुष टोलीका सदस्यलाई प्रत्येक खेल बराबर ५ हजार दिने पनि घोषणा गरेको छ । २०२० को जनवरीबाट यो लागू भइसकेको क्यानले जनाएको छ । चैत तेस्रो सातादेखि पुरुष राष्ट्रिय एकदिवसीय प्रतियोगिता गर्न लागेको क्यानले जनाएको छ ।