मनाङ मर्स्याङ्दी क्लबले धरानमा सम्पन्न २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि जितेको छ ।
बुधबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोलले हराउँदै मनाङले उपाधि उचालेको हो ।
धरान रंगशालामा भएको खेलमा मनाङलाई जिताउन दयानन्द सिंह, विशाल लिम्बू र विमल रानाले समान एक-एक गोल गरे । पुलिसका लागि भने कप्तान भोला सिलवालले एक गोल फर्काए ।
मनाङले खेलको दसौं मिनेटमा दयानन्दको गोलमा सुरुआती अग्रता बनाएको थियो ।
दयानन्दले पहिलो हाफभरि १–० गोलको अग्रता दिलाए । खेलको पहिलो हाफ निकै नै प्रतिस्पर्धात्मक रहेको थियो ।
यस्तै खेलको ५०औं मिनेटमा विशाल लिम्बूले गोल गर्दै मनाङलाई अग्रता दिलाए ।
यसैगरी खेलकाे ६५औं पुलिसले पेनाल्टीको माैका पाएको थियो ।
मनाङको पोस्टअगाडि डी एरियामा पुलिसका जुमानु राईमाथि खराब ट्याकल भएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
जसमा पुलिसका कप्तान भोला सिलवालले सहजै गोल गरेका थिए ।
यस्तै खेलको इन्जुरी समयमा मनाङका विमल रानाले उत्कृष्ट गोल गरे । उनको गोलसँगै मनाङले पुलिसलाई ३-१ गोलले हराउँदै उपाधि जितेको हो ।
यससँगै मनाङले मोफसलको सर्वाधिक चर्चित गोल्डकपको उपाधि आफ्नो बनाएको छ ।
छैटौं पटक फाइनलमा पुगेको मनाङले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो ।
यता, ११औं पटक फाइनल प्रवेश गरेको नेपाल पुलिस क्लबको छैटौं पटक उपाधि जित्ने सपना असफल भयो ।
सेमिफाइनलमा पुलिसले ए डिभिजन लिग विजेता मछिन्द्र फुबटल क्लबलाई पराजित गरेको थियो भने मनाङले भारतीय क्लब यूकेएफसीलाई हराएको थियो ।
उपाधिसँगै मनाङले नगद १० लाख जितेको छ । उपविजेतामै सीमित पुलिसले नगद ५ लाख जितेको छ ।
प्रतियोगिताको विजेता र उपविजेतालाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मछिरिङ शेर्पाले पुरस्कार प्रदान गरे ।