मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
उपाधिसँगै मनाङले १० लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा समेत गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो ।
टाइब्रेकरमा मनाङ सफल भयो ।टाइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गरे ।
मनाङका निशान लिम्बुको प्रहार पुलिसका किपर रोशन खड्काले बचाए ।
पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले मात्र गोल गरे ।
पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार मनाङका किपर अशोक बरालले बचाए ।
सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।