मनाङबिरुद्ध फ्रेन्ड्स क्लबलाई पहिलो अंक

कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङले अंक बाडेको हो ।

खेलको ११ औं मिनेटमा रन्जन बिष्टले हेड गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनले जगजित श्रेष्ठको कर्नरमा गोल गरेका थिए ।

तर, दोस्रो हाफमा फ्रेन्ड्स खेलमा फर्कियो । भारतीय खेलाडी उत्तम राईले ६३ औं मिनेटमा गोल गर्दै फ्रेन्ड्सलाई हारबाट जोगाए ।

फ्रेन्ड्सबाट पहिलो खेल खेलिरहेका उनले रमेश बर्तौलाको क्रसमा हेड गोल गरेका थिए ।

फ्रेन्ड्ससँग बराबरीमा रोकिएपनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्र क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको मनाङले ४ खेलमा १० अंक जोडेको छ । मछिन्द्रको ९ अंक रहेको छ ।

अघिल्ला तीन खेलमा लगातार जित निकालेको मनाङले फ्रेन्ड्ससँग भने अंक बाड्न बाध्य भयो । गत सिजन पनि मनाङ फ्रेन्ड्ससँग १-० ले पराजित भएको थियो ।

फ्रेन्ड्सले भने पहिलो अंक जोडेको छ । अघिल्ला तीन खेलमा हार व्यहोरेको फ्रेन्ड्सले ४ खेलमा १ अंक जोडेको छ । फ्रेन्ड्स लिगको १३ औं स्थानमा रहेको छ ।