भ्यालेन्सियाबिरुद्ध रियल मड्रिडको सान्दार जित

ला लिगा अन्तर्गत बिहीबार राती भएको खेलमा रियल म्याड्रिडले घरेलु मैदानमा भ्यालेन्सियालाई ३-० ले पराजित गरेको छ ।

खेलको १६ औं मिनेटमा पाहुना टोली भ्यालेन्सिया अग्रता लिनबाट बन्चित भयो । रोड्रीगोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले हल्का छोएपछि पोस्टमा लाग्दै बाहिरिएको थियो ।

दोस्रो हाफको ६१ औं मिनेटमा रियलले करीम बेन्जेमाको गोलमा सुरुवाती अग्रता लियो । लुका मोड्रीचको पासलाई हाजार्डले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट बेन्जेमातर्फ दिएपछि फ्रान्सेली फरवार्डले उत्कृष्ट फिनिस गर्दै रियललाई अगाडी बढाएका थिए ।

खेलको ७४ औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले दोस्रो गोल गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका थिए । एसेन्सियोले फर्लान्ड मेन्डीको क्रसलाई पहिलो टचमा नै पेनाल्टी क्षेत्र भित्रबाट हाफ भलीमा गोल गरे ।

८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको सहज जित सुनिश्चित गरे । एसेन्सियोको क्रसलाई पेनाल्टी क्षेत्र भित्र उत्कृष्ट नियन्त्रण लिएका उनले बल हावामा रहँदै दोस्रो टचमा शक्तिशाली प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

यस जितसँगै रियल म्याड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । रियलको २९ खेलमा ६२ अंक छ । बार्सिलोनाले समान खेलमा ६४ अंक जोडेको छ । भ्यालेन्सिया भने २९ खेलमा ४३ अंकसहित आठौं स्थानमा यथावत छ ।