भोलिदेखि च्याम्पियन्स लिग सुरु हुँदै – को को खेल्दै छ भोलि ?

भोलिदेखि युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन २०१८/१९ सुरु हुँदैछ । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगितामा कूल ३२ टोली भिड्दैछन् । दुई हप्ताअघि विभिन्न ३२ टोलीलाई चार पटमा राखेर ८ समूहमा विभाजन गरी समूह चरणको ड्र सार्वजनिक गरिएको थियो ।

नयाँ सिजनमा समूह चरणअन्तर्गत भोलि पहिलो खेलमा स्पेनको क्लब बार्सिलोना र नेदरल्यान्ड्सको क्लब पिएसभी आमनसामने हुँदैछन् । यो खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । भोलि एकै दिन समूह चरणअन्तर्गत जम्मा ८ खेल हुनेछन् । त्यसमध्ये केही ‘हेभिवेट’ टोलीका खेल पनि भोलि नै हुनेछन् ।

भोलि हुने अर्को बहुप्रतीक्षित खेलमा इंग्ल्यान्डको क्लब लिभरपुल र फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पनि भिड्दैछन् । यसपटक च्याम्पियन्स लिगमा साबिक विजेता रियल मड्रिड, लिभरपुल, म्यानचेस्टर सिटी, बार्सिलोना, युभेन्टस, टोटनह्याम, म्यानचेस्टर युनाइटेडसम्मलाई उपाधि दाबेदार मानिएको छ ।

च्याम्पियन्स लिग हालसम्म सबैभन्दा धेरै रियल मड्रिडले १३ पटक जितेको छ । उसले पछिल्ला तीन सिजन लगातार यो उपाधि जितेको छ भने पछिल्ला पाँच सिजन उसले चार सिजन यो उपाधि जितेको छ ।