भुटान अन्तराष्ट्रिय फुटबलमा पहिलो पटक फाइनल खेल खेल्दै

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको फाइनल खेलमा आज भुटानको सामना गर्दैछ ।

भुकम्पपछि बनेको दशरथ रंगशालामा नेपालले १३ औं सागको समापनमा फुटबलको फाईनल खेल खेलाउने तयारी गरेको हो ।

खेल दिउसो ३ बजे हुनेछ ।

पहिलो पटकको इतिहासमा फाइनल पुगेको भुटान र सागमा पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ ।

भुटान पछिल्लो समय दक्षिण एसियाली फुटबलमा उदाउँदो शक्तिको रुपमा अगाडी बढेको छ । उसले घरेलु फुटबलमा ठुलो लगानी गरेको छ । ग्रासरुट फुटबलमा गरेको लगानीले अहिले सिनियर स्तरमा ठुलै प्रतिफल दिईरहेको छ ।

यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक आयोजक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने पहिलो टोली बन्यो ।

पहिलो खेलमा भुटानलाई नेपालले ४–० गोल अन्तरले हराएको थियो ।

पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो । अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो ।

बगलादेशलाई हराउँदै नेपाल लगातार दोस्रो पटक सागको पुरुष फुटबलमा फाईनल प्रवेश गर्यो ।

सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

भुटान फुटबलको इतिहासमै पहिलो पटक साग तथा कुनै प्रतियोगिताको फाइनल पुगेको हो ।

भुटानले उद्घाटन खेलमा बंगलादेशविरुद्ध १–० को अप्रत्यासित जित निकालेको थियो ।

दोस्रोमा नेपालसँग पराजित भएपनि तेस्रोमा माल्दिभ्सलाई २–१ गोल अन्तर र अन्तिममा श्रीलंकालाई ३–१ गोल अन्तरले हराएको थियो ।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहिन छन् ।

पहिलो पटक फाईनल प्रवेश गरेको भुटान उपाधि भिडन्तमा नतिजा नेपाललाई सुम्पिन चाहदैन । भुटानविरुद्ध सिनियर स्तरका प्रतियोगितामा नेपालनै हाबी हुदै आएको छ ।