भुटानमाथिको शानदार जितसँगै नेपाल फाइनलमा प्रवेश

नेपाल साफ यू-१५ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।भारतको कल्याणी रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई ६-० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा थप चार गोल गरेको हो। पहिलो हाफको पाँचौं मिनेटमा प्रदीप लम्सालले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । यसैगरी नवौं मिनेटमा निराजन खत्रीले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि पहिलो हाफमा नेपालले गोल थप्न सकेन । दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट खेल खेलेको थियो ।

४८ औं मिनेटमा प्रदीप लम्सालले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । ७५ औं मिनेटमा असिम राईले गोल गर्दै नेपाललाई फराकिलो जित तर्फ लगे । ८५ औं मिनेटमा कृष सापकोटाले गोल गर्दै नेपाललाई ५-०मा पुराए। थपिएको समयमा सुगमले गोल गर्दै नेपाललाई ६-० को विशाल जित दिलाए।

अब नेपालले फाइनलमा भारतको सामना गर्नेछ।