भिनिसियस जुनियरलाई पास नदिन बेन्जेमाले आफ्नो टिम मेटलाई आग्रह गरेको खुलासा

च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बोरुसिया मोन्चेनग्लाडबाक बीचको खेलमा करिम बेन्जेमाले आफ्नो टिम मेट फर्ल्यान्ड मेन्डीलाई रियलका अर्का स्टार भिनिसियस जुनियरलाई पास नदिन आग्रह गर्दै गरेको भिडियो सार्वजनिक भएको छ।

 

मंगलबार राती समूह बीको खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड बोरुसिया मोन्चेनग्लाडबाकसँग हारबाट जोगिएको थियो र हाल उक्त खेल भन्दा पनि रियलका स्टार बेन्जेमाले आफ्नो टिम मेट बिरुद्ध बोलेको कुराको चर्चा भएको छ।

हाफ टाइमको अन्त्य पछि फेरी मैदान छिड्ने क्रममा स्टेडियमको तनेलमा करिम बेन्जेमा र फर्ल्यान्ड मेन्डी बीच भएको कुराकानी क्यामेरामा रेकर्ड भएको थियो र उक्त भिडियोमा बेन्जेमाले मेन्डीलाई भिनिसियस जुनियरलाई पास नदिन आग्रह गर्दै गरेको देख्न सकिन्छ।

खबर अनुसार बेन्जेमाले भनेका थिए “भाई उसलाई पास नगर। मेरो आमाको कसम ऊ हाम्रो विरुद्धमा खेलिरहेको छ।”

उक्त भिडियो सार्वजनिक भए पछि रियलका फ्यानहरु बेन्जेमा संग क्रोधित भएका छन् भने उनको धेरै आलोचना भएको छ। उनको बिरुद्ध क्लबले पनि कारबाही गर्न सक्ने कुरा छ तर सो बारे रियलले केहि बयान जारी गरेको छैन।

उक्त खेल भने बराबरीमा अन्त्य भएको थियो। खेलको ३३ औं मिनेटमा घरेलु टोलीले मार्कस थुरामको गोलमा अग्रता लिएको थियो । उनले एलेसन प्लेयाको पासमा गोल गरेका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा थुरामले नै अग्रता दोब्बर पारे ।  रियल म्याड्रिड अन्तिम समयमा दुई गोल गरेपछि हारबाट जोगियो । ८७ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै खेलमा फर्कने संकेत दिए । उनले क्यासेमिरोको पासमा ओभरहेड किकमार्फत गोल गरेका थिए । इन्ज्युरी समयको तेस्रो मिनेटमा क्यासेमिरोले सर्जियो रामोसको पासमा गोल गर्दै खेल बराबरी गरे ।