भाषा परीक्षामा पास भएकाहरु सीप परीक्षणपछि मात्र कोरिया जान पाउने; बिस्तृत जानकारी

देशिक रोजगार विभाग अन्तर्गतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ। भाषा परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन्। यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा युवायुवती कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए।

रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि कोरिया पुगेका युवाले आत्महत्या गर्नुको साथै डिप्रेसनमा पर्ने क्रम बढेपछि कोरिया सरकारले पहिलोपटक सीप परीक्षणको व्यवस्था गरेको शाखाले जनाएको छ।

‘भाषा उत्तीर्ण गरेकै भरमा कोरिया पुगेका युवायुवतीले जटिल काम गर्नुपर्ने भएपछि आत्महत्या गर्नुको साथै डिप्रेसनमा पर्ने क्रम बढ्यो,’ भण्डारीले भने, ‘सीप परीक्षणपछि कामदारले कोरियामा गर्नुपर्ने कामको सम्पूर्ण जानकारी होस् भनेर यस्तो व्यवस्था गरिएको हो।’ यो समाचार नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार रुद्र खड्काले लेखेका हुन्।

केही वर्षयता रोजगारीका लागि कोरिया पुगेका युवाले आत्महत्या गर्ने क्रम निकै बढेको छ। शाखाका अनुसार पछिल्लो १० वर्षको अवधिमा रोजगारीका लागि कोरिया पुगेका ८० युवाले १० आत्महत्या गरेका छन्। जबकि पारिश्रमिकको दृष्टिकोणले कोरिया अन्य गन्तव्यको तुलनामा निकै आकर्षक मानिन्छ।