भारत र माल्दिभ्सका प्रशिक्षकले भने उपाधि नेपालले जित्छ

साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने दुई टिमले नेपाल उपाधिको दाबेदार भएको बताएका छन् । माल्दिभ्सका प्रशिक्षक पिटर सेग्रट र भारतका सहायक प्रशिक्षक शानमुगन बेन्कटेसले प्रतियोगितामा नेपाल निकै बलियो टिम भएको प्रतिक्रिया दिए ।

प्रतियोगिताको प्रवल दाबेदार कुन हो ? भन्ने प्रश्नमा वेनकटेशले नघुमाइकन उत्तर दिए,‘नेपाल । उनीहरु टेक्निकली र फिजिकली दुबै पक्षमा सशक्त छन् ।’

भारत प्रतियोगितामा दाबेदार नभएको उनको प्रतिक्रिया थियो । नेपालको तुलनामा भारतीय टिम केही कमजोर रहेको उनले स्वीकार गरे ।

यता माल्दिभ्सका प्रशिक्षकले नेपाली टिमको प्रशंसासँगै समग्र नेपाली र देशकै प्रशंसा गरे । ‘केही समय नेपालका प्रशिक्षकसँग कुरा गर्ने मौका पाएँ । नेपाल देश, त्यहाँका मानिस र नेपाली टिम सबै राम्रो लाग्यो,’ सेग्रटले भने ।