नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतीय महिला लिग फुटबलमा मंगलबार गोकुलम केरला एफसीका लागि ५ गोल गरेकी छिन् ।
बेंग्लोर रंगशालामा भएको खेलमा गोकुलमले केन्क्रे एफसीलाई १०–१ ले पराजित गर्दा सावित्राले उत्कृष्ट प्रदर्शन गरिन् । गोकुलमका लागि करिश्मा शिरवोइकरले ह्याट्रिक गरिन् ।
त्यस्तै मनीशाले २ गोल गरिन् । मंगलबारको खेलमा म्यान अफ द म्याच हुँदै सावित्राले ५ हजार भारतीय रुपैयाँ पाइन् ।
गत वर्ष सेथु एफसीबाट भारतीय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकी सावित्रा यस वर्ष गोकुलममा आबद्ध भएकी हुन् । उनले गत संस्करणमा १५ गोल गरेकी थिइन् । सावित्रासँगै नेपाली खेलाडी अनिता बस्नेत पनि भारतीय महिला लिग खेलिरहेकी छिन् ।
अनिता सेथु एफसीबाट खेलिरहेकी छिन् । गत वर्ष पनि उनी यसै क्लबमा आबद्ध थिइन् ।
@Kantipur