भारतविरुद्ध टेस्ट शृंखलामा क्रिस गेलको नाम हटाइयो

भारतविरुद्ध घरेलु मैदानमा हुने दुई म्याचको टेस्ट शृंखलाका लागि वेस्ट इन्डिजका छनोटकर्ताले ओपनर क्रिस गेलको नाम हटाएका छन् । टोलीबाट नाम हटाएसँगै गेलको घरेलु मैदानमा अन्तिम पटक टेस्ट खेल्ने सम्भावना टरेको छ । ३९ वर्षीय गेलले २०१४ पछि कुनै पनि टेस्ट खेलेका छैनन् । उनले २०१४ मा देशबाट टेस्ट खेल्दा १ सय तीनौं खेल खेलेका थिए । हालै मात्र सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा उनलाई अन्तिम टेस्ट खेल्न दिने सम्भावना रहेको भन्दै टोलीमा समावेश गरिएको थियो । अनि मात्र अन्तर्राष्ट्रिय करियरबाट संन्यास लिन सुझाव दिइएको थियो ।

विस्फोटक ब्याट्सम्यानको रूपमा चिनिएका वेस्ट इन्डिजका गेलले टेस्ट क्रिकेटमा ७ हजार २ सय १४ रन बनाएका छन् । गेलले टेस्टमा सबैभन्दा धेरै ३ सय ३३  रन बनाएका छन् । तर पछिल्लो समय गेल एकदिवसीय र ट्वान्टी–२० संरचनाका खेलमा व्यस्त रहेका थिए ।

वेस्ट इन्डिजले दोस्रो टेस्ट खेल घरेलु मैदानमा खेल्दै छ । अगस्ट ३० देखि सेम्टेम्बर ३ सम्म तय भएको तालिकामा वेस्ट इन्डिजले जमैकास्थित सविना पार्कमा भारतलाई आतिथ्य गर्दै छ । उक्त खेलमा गेलको अन्तिम अन्तर्राष्ट्रिय उपस्थिति हुने अनुमान गरिएको थियो । वेस्ट इन्डिजका अन्तरिम छनोट समितिका सदस्यले यसअघि इङ्ल्यान्डविरुद्ध २ܺ–१ को जित निकाल्नका खेलाडीलाई समावेश गर्दै टोली बनाउने सोचमा छन् । तर चोटका कारण तीव्र गतिका बलर अल्जारी जोसेप र बायाँहाते स्पिनर जोमेल वारिकान टोलीमा समावेश हुने छैनन् । यस्तै अफ स्पिनर रहकिम कोर्नवानले लामो समयको प्रतीक्षापछि टेस्ट टोलीमा समावेश हुने मौका पाउनेछन् । २६ वर्षे कोर्नवालले ५५ पहिलो श्रेणीका खेल खेल्दा २ सय ६० विकेट लिएका छन् ।

कोर्नवालले पछिल्लो समय सन्तुलित खेल प्रदर्शन गर्न सफल भएका छन् । उनकै सहयोगमा धेरै पटक टोलीले जित आत्मसात् गरेको छ । त्यसैले टेस्ट टोलीमा पर्न योग्य भएका छन्’ छनोट समितिका प्रमुख रोबर्टो हायन्सले भने । टेस्ट टोलीमा समावेश भएका वेस्ट इन्डिज ‘ए’ टोलीका कप्तान सम्राह ब्रुक्स मात्र अन्तर्राष्ट्रिय खेलमा नखेलेका एक मात्र खेलाडी हुन् । अलराउन्डर किमो पावेलले टेस्ट टोलीमा पुनरागमन गरेका छन् ।