भारतमाथि नेपालको शानदार जित

एएफसी यु-१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले भारतलाई पराजित गरेको छ । थाईल्याण्डको चोनबुरी रंगशालामा भएको खेलमा नेपालले भारतलाई २-० ले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउन रेखा पौडेलले दुई गोल गरिन । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा नेपालले दुई गोल गरेको थियो । नेपालकी रेखाले खेलको ५९ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाईन ।

यसअघि रेखाले खेलको ४९ मिनेटमा गोल गर्ने सुन्दर मौका गुमाएको थिइन । उनले प्रहार गरेको बल भारतीय गोलकिपरले रोकेकी थिईन् । त्यस्तै ८८ औं मिनेटमा रेखाले नै थप एक गोल गर्दै नेपालको अग्रता दोब्बर पारीन ।

यता भारतले पनि केहि सुन्दर मौका खेर फाल्दा खेल २-० ले गुमाउन पुगेको थियो । आफ्नो पहिलो खेलमा थाईल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको नेपाललाई अघिल्लो चरण पुग्न भारतलाई हराउनुपर्ने दबाब थियो । यसअघि भारतले पाकिस्तानलाई १८-० गोल अन्तरले हराएको थियो ।

समूहमा नेपाल र भारतको समान ३ अंक भएको छ । नेपालले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ भने भारतले बलियो प्रतिद्धन्द्वी थाईल्याण्डसँग खेल्नेछ ।