भारतबाट आउने बिषादी तरकारी तथा फलफूल भित्र्याउन सरकार द्वारा स्वीकृत

सरकारले भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण तत्कालका लागि स्थगित गरेको छ ।

विषादी परीक्षणका लागि आवश्यक पर्ने प्रविधि र भौतिक पूर्वाधार नपुगेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्कालका लागि विषादी परीक्षणको काम स्थगित गरेको हो । मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद बैठकले पारित गरेपछि भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गरिएको हो ।

ठूलो मात्राको विषादी परीक्षणका लागि चाहिने आवश्यक प्रविधि र भौतिक पूर्वाधार तयार पारेपछि फेरि परीक्षण थालिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ । भारतको दबाबमा विषादी परीक्षण रोकेको बताइए पनि पूर्वाधार निर्माणका लागि मात्रै परीक्षण केही दिनका लागि स्थगित गरेको दावी गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्राविधिकले सीमा तथा भन्सार नाकामा भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दै आएका थिए । सरकारले गएको असार २ गतेदेखि नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर भन्सारमा भारतबाट आउने तरकारी तथा विषादी परीक्षण थालेको हो ।

विषादी हालिएको तरकारी तथा फलफूलले उपभोक्ताको स्वास्थ्यमा असर गर्नुका साथै नेपाली किसान मारमा परेपछि सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कडाइ गरेको थियो । तर भारतबाट तरकारी र फलफूल बोकेर आएका ट्रक सीमामै रोकिएपछि काठमाण्डौमा रहेको भारतीय दूतावासले विषादी परीक्षण स्थगित गर्न सरकारलाई दबाब दिँदै आएको थियो ।

दबाब आएका कारणले नभइ भौतिक पूर्वाधार र प्रविधिको कमी भएकाले तत्कालका लागि विषादी परीक्षण स्थगित गरिएको सरकारले जनाएको छ ।

– उज्ज्यालो अनलाइन