भारतको पहिलो हार, आयोजक राष्ट्रसँग हार्यो

आयोजक राष्ट्र इंग्ल्याण्डले भारतलाई पराजित गर्दै एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ।

प्रतियोगितामा अपराजित रहेको भारतले भने पहिलो हार बेहोरेको छ। इंग्ल्याण्डसगँको हारले सेमिफाइनलमा स्थान बनाउँन धक्का लागेको छ।

आइतबार भएको खेलमा भारत इंग्ल्याण्डलसँग ३१ रनको हार बेहोरेको हो। ३३८ रनको लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेलेर पाँच विकेटको क्षतिमा ३०६ रन बनायो।

भारतका लागि रोहित शर्माले शतकीय पारी खेले। उनले १०९ बलमा १५ चौकाको सहयोगमा १०२ रन बनाए। यस्तै कप्तान विराट कोहलीले ६६ रन बनाए। यस्तै हार्दिक पाण्डेयले ४५, महेन्द्र सिंह धोनीले नटआउट ४२ तथा ऋषभ पन्तले ३२ रन बनाए पनि जित्न सकेनन्।

पहिलो ब्याटिङ्ग गरेको इंग्ल्याण्डले ७ विकेटको क्षतिमा ३३७ रन बनायो। उसका लागि जोनी बेयरेस्टले शतकीय पारी खेलेर १०९ बलमा १० चौका र ६ छक्का हानेर १११ रन बनाए। बेन स्टोक्सले ७९, ज्यासन रोयले ६६ तथा जोय रुटले ४४ रनको योगदान दिएका थिए।

हारपछि पनि भारत दोस्रो स्थानमा कायम छ। उसको सात खेलबाट ११ अंक छ। जितले इंग्ल्याण्ड ८ खेलबाट १० अंक बनाएर चौथौँ स्थानमा छ।