भाग्यशाली युनाइटेडको अबिस्वास्निय जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पहिलो तथा निकै कठिन जित निकालेको छ ।

शनिबार भएको खेलमा ब्राइटनलाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाइटेडले पहिलो जित निकालेको हो ।

ब्राइटनको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर युनाइटेडले जित निकालेको हो ।

खेलको ४० औं मिनेटमा निल माउपेले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

युनाइटेडका निमान्जा माटिचले पेनाल्टी बक्समा आरोनलाई फउल गरेपछि ब्राइटनले पेनाल्टी पाएको थियो ।

तर, ४३ औं मिनेटमा ब्राइटनका लेविस डंकले आत्मघाती गोल गरेपछि पहिलो हाफको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको ५५ औं मिनेटमा मार्कस राष्फोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।

त्यसअघि ५३ औं मिनेटमा राष्फोर्डले गरेको गोलले भने मान्यता पाएन । भीएआरमा उनी अफसाइड देखिएका थिए ।

त्यसपछि थप गरिएको इन्जुरी समयको खेल रोमान्चक बन्यो ।

इन्जुरी समयको पाँचौ मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटन २-२ को बराबरीमा ल्याए ।

तर, इन्जुरी समयको ११ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३-२ को जित दिलाए ।

ब्राइटनका माउपेले पेनाल्टी क्षेत्रमा ह्याण्डबल गरेपछि भीएआरको सहयोगमा युनाइटेडले पेनाल्टी पाएको थियो । जसमा ब्रुनो सफल भए ।

जितसँगै युनाइटेडले २ खेलमा ३ अंक जोडेको छ । युनाइटेड तालिकाको १३ औं स्थानमा रहेको छ । पहिलो खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।

ब्राइटनको यो दोस्रो हार हो । ३ खेल खेलेको ब्राइटनको ३ अंक रहेको छ । ब्राइटन तालिकाको दशौँ स्थानमा रहेको छ ।