भर्खरै प्रोमोसन भएर आएको वोल्भरह्याम्पटनले रोक्यो च्याम्पियन म्यान्चेस्टर सिटीलाइ

लगातार दुई खेलमा शानदार जित हात पार्दै नयाँ सिजनको शुरुवात गरेको साविक विजेता म्यानचेष्टर सिटी प्रिमियर लिगतर्फ शनिबार वोल्भरह्याम्पटनसँग बराबरीमा रोकिएको छ ।

वोल्भरह्याम्पटनको घरेलु मैदान मोलिनक्स स्टेडियममा सम्पन्न खेलको दोस्रो हाफमा घरेलु टोलीले सिटीविरुद्ध अप्रत्याशित अग्रता लिन सफल भएको थियो । खेलको ५७ औं मिनटमा विली बोलीले वोल्भरह्याम्पटनका लागि गोल गर्दै घरेलु टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।

यद्यपि खेलको ६९ औं मिनटमा एमेरिक लापोर्टेले सिटीका लागि बराबरी गोल फर्काउँदै साविक विजेताको सम्भावित हार टारेका थिए । अधिकांश समय बललाई नियन्त्रणमा राखेको सिटीले प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउन पर्यो ।

यो नतिजासँगै ३ खेलबाट ७ अंक जोडेको सिटी अझै पनि शिर्ष स्थानमा यथावत छ । उता यसै सिजन प्रिमियर लिगमा बढुवा भएको वोल्भरह्याम्पटन भने ३ खेलबाट २ अंकका साथ १२ औं स्थानमा उक्लिएको छ ।