ब्रिगेड ब्वाइज बिरुद्ध मनाङ मर्स्याङ्दीको सहज जित

मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइजलाई ३-१ ले हराएर मनाङले विजयी सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङले पुनरागमन जित निकालेको हो । मनाङको जितमा आफिज ओलावालेले दुई गोल गरे । यस्तै हेमन गुरुङको नाममा एक गोल रह्यो । ब्रिगेडका रजक तिवारीले एक गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता अग्रता भने ब्रिगेडले लिएको थियो । पहिलो हाफको २८ औं मिनेटमा रजक तिवारीको गोलबाट ब्रिगेडले सुरुवाती अग्रता लिएको थियो । तर, ४७ औं मिनेटमा हेमल गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि मनाङको जितमा नायक बने अफ्रिकन खेलाडी ओलावाले। खेलको ५७ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई २ – १ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा आफिज ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३ – १ को जित दिलाए ।

खेलमा ओलावाले म्यान अफ दि म्याच चुनिए । जितसंगै मनाङले लिगको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । र, मनाङ शीर्ष स्थानमा रहेको छ । ब्रिगेडले भने अग्रता जोगाउन नसक्दा हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

मनाङ र ब्रिगेडको खेलसंगै जारी ‘ए’ डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ ।