ब्रिगेट ब्वाईज क्लब – जसले अनिल गुरुङ जस्ता खेलाडी नेपाली फूटबललाई दिए

घरेलु फुटबलमा ब्रिगेट ब्वाईजको इतिहास त्यति लामो होईन, तर छोटो पनि छैन । क्लबको आफ्नै कथा छ, आफ्नै कहानी छ ।

करिब २५ बर्ष अगाडी विदेशमा रहेका लाहुरेका छोरा छोरी नेपाल आउथे, फुटबल खेल्थे । फुटबल मोहकै कारण क्लब गठन गरे, ब्रिगेट ब्वाईज ।

सुन्दा समेत फौजी जस्तो लाग्ने क्लबले ‘ए’ डिभिजनमा चढ्ने, झर्ने गरिरह्यो । फेरी एक पटक क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएको छ ।

क्लबले नेपाली फुटबलमा केही यस्ता खेलाडी दिएको छ । जसलाई नेपाली फुटबलले अनन्तसम्म सम्झिरहनेछ । त्यसमा केही उदाहरण लिदाँ अनिल गुरुङको नाम अगाडी आउछ ।

राष्ट्रिय टिमका पुर्व कप्तान समेत बनेका अनिलले घरेलु लिगमा ब्रिगेट ब्वाईजबाटै डेब्यु गरेका थिए । एक सिजन पश्चात उनी महारथी क्लब थ्रीस्टारमा जोडिए । पछि विभिन्न नाम चलेका क्लबमा गए । नाम कमाए, पैसा कमाए, आफुलाई समृद्ध बनाए । तर ब्रिगेटले आफुलाई कहिल्यै फैलाउन सकेन । क्षितिज पारिको लक्ष्य भेट्ने आँट गर्न सकेन ।

‘क्लबको नियमित आर्थिक स्रोत छैन । भवन छैन । टोली सुधार समितिसंग मागेर एउटा क्लबको अफिस छ ।‘ क्लबका म्यानेजर अरबिन्द गुरुङ भन्छन्, ‘नयाँ खेलाडीलाई मौका दिने र युवालाई अवसर दिने क्लबको रुपमै हामी रहन्छौ ।’
क्लबले भर्खरै अन्डर १८ प्रतियोागिता जितेको छ । त्यही टिमका अधिकांश राम्रा खेलाडीलाई राखेर लिग खेल्ने टिम बनाएको छ । ए डिभिजनकालागि भन्दै क्लबले केही विदेशी खेलाडीसमेत क्लबमा ल्याएको छ ।

‘बढी भन्दा बढी युवा खेलाडीलाई क्लबमा राख्ने र अर्को सिजनको तयारी गर्ने हाम्रो लक्ष्य हो ।’ गुरुङ भन्छन् ।
ब्रिगेटले लिगमा धेरै ठुलो महत्वकाक्षा राखेको छैन । उसले कम्तिमा आठौ स्थानसम्म आफुलाई उभ्याउने योजना बनाएको छ ।

क्लबको लक्ष्य अहिलेको टिमलाई परिपक्क बनाएर अर्को सिजन रेलिगेशनबाट बच्नुनै रहेको छ ।